काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाउँदै उनले घटनाबारे गृहमन्त्री सुधन गुरुङले संसद् र जनतासमक्ष जवाफ दिनुपर्ने माग गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै आङ्देम्बेले सरकारले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप लगाए।
‘यो घटनाको जवाफ गृहमन्त्रीले दिनुपर्छ। शान्ति र सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी हो। त्यसैले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ,’ उनले भने।
आङ्देम्बेले पछिल्लो समय सरकारप्रति नागरिकमा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै त्यसको परिणामस्वरूप आत्मदाहजस्ता गम्भीर घटना दोहोरिन थालेको दाबी गरे।
उनले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन्। सरकारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ छ।
सुरक्षाकर्मीले कानुनको सीमाभित्र रहेर अधिकतम संयमता अपनाउँदै शान्ति–सुरक्षा कायम गर्नुपर्नेमा जोड दिँदै आङ्देम्बेले अफवाह र उत्तेजनाको पछि नलाग्न सबैलाई अपिल गरेका छन्।
उनले संवाद, सहिष्णुता र संवैधानिक तथा कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्नसमेत सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया