काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा धार्मिक तनावपछि उत्पन्न हिंसात्मक घटनालाई लिएर गृह मन्त्रालयले जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्वमा व्यापक फेरबदल गरेको छ।
मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाउने निर्णय गरेको छ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ। उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय भएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई पनि सरुवा गरिएको छ। उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ भने उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाउने निर्णय भएको छ।
यसैगरी, कप्तानगञ्जस्थित सशस्त्र प्रहरी बल नेपालको युनिटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपालका डीएसपी मदन नाथलाई खटाइएको छ।
कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि एक जनाको मृत्यु हुनुका साथै ठूलो संख्यामा सर्वसाधारण तथा सुरक्षाकर्मी घाइते भएका थिए। घटनापछि गृह मन्त्रालयले प्रशासन तथा सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठाउँदै नेतृत्व तहमा फेरबदल गरेको हो।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया