काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलन उग्र बनेसँगै जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन्।
कर्फ्यू महेन्द्र राजमार्गअन्तर्गत इनरुवा–३ र ६ को सीमा (घोपली टोल)देखि कोशी ब्यारेज पुलसम्म तथा राजमार्गको उत्तर–दक्षिण ५०० मिटर क्षेत्रभित्र लागू गरिएको छ। आदेश अवधिमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा र घेराउ पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले आदेश उल्लङ्घन गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद हुन सक्ने चेतावनी दिएको छ। आन्दोलनका कारण राजमार्ग अवरुद्ध र सवारीसाधनमा तोडफोड भएपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया