काठमाडौ ।  नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेबापत सवारी साधनहरूले तिर्नुपर्ने सडक उपभोग दस्तुर सार्वजनिक भएको छ।

सोमबारदेखि सञ्चालनमा आएको सुरुङ मार्ग प्रयोग गर्दा सवारी साधनहरूलाई चार वर्गमा विभाजन गरी काठमाडौँतर्फ र धादिङतर्फ यात्रा गर्ने सवारीका लागि फरकफरक दर निर्धारण गरिएको छ।

कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी साधनले काठमाडौँ आउँदा ६५ रुपैयाँ र धादिङ जाँदा ६० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।

मिनी बस र मिनी ट्रिपररट्रकका लागि काठमाडौँतर्फ आउँदा ११५ रुपैयाँ र धादिङतर्फ जाँदा ८० रुपैयाँ दर तय गरिएको छ।

त्यस्तै बस तथा सिङ्गल रियर एक्सल भएका ट्रकका लागि काठमाडौँ आउँदा २६० रुपैयाँ र धादिङ जाँदा दुई सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

मल्टी एक्सल ट्रक, ठूला सवारी साधन तथा उपकरणहरूले काठमाडौँ छिर्दा ६०० रुपैयाँ र धादिङतर्फ जाँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्ने आयोजनाले जनाएको छ।

टोल दर सवारी सञ्चालन खर्च र यात्रा समयको बचतबाट प्राप्त हुने अनुमानित बचतलाई आधार मानेर तय गरिएको हो।

जसअनुसार काठमाडौँतर्फ जाने सवारीका लागि बचतको करिब ३० प्रतिशत र धादिङतर्फ जाने सवारीका लागि बचतको करिब ३६ प्रतिशत हुने गरी दस्तुर निर्धारण गरिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com