काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएकी २९ वर्षीया कविताकुमारी ढुङ्गाना विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

मृतक कविताकुमारी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालयको आवासीय कोठामा बस्दै आएकी थिइन्। पर्साको वीरगञ्ज–१६ निवासी गुप्ता र उनकी श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुलिनसकेको र पोस्टमार्टम रिपोर्टसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको उनले बताए।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको थियो। सोमबार विद्यालय सञ्चालन भएपछि दुवै शिक्षक सम्पर्कमा नरहेको थाहा भएको थियो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन सकेको थिएन।

दिनभर सम्पर्क हुन नसकेपछि सोमबार साँझ करिब ४:३० बजे रतन गुप्ताले प्रधानाध्यापक लुइँटेललाई व्हाट्सएपमार्फत सन्देश पठाएका थिए। सन्देशमा उनकी श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शवलाई अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै कोठाको ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरिएको प्रधानाध्यापक लुइँटेलले जानकारी दिए।

स्थानीयवासीका अनुसार रतन गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालय परिसरबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कविहीन रहेका छन्।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि पठाएको छ। साथै सम्पर्कविहीन रहेका रतन गुप्ताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन सबै कोणबाट अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com