एजेन्सी। पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अधिकारको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाएको आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूले दाबी गरेका छन्। उनीहरूका अनुसार घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने करिब दुई दर्जन प्रदर्शनकारी घाइते भएका छन्। घटनाबारे समाचार तयार पार्दासम्म पाकिस्तानी अधिकारीहरूले कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का कोर सदस्य इम्तियाज असलमले सार्वजनिक गरेको भिडियोमार्फत प्रदर्शनकारीहरूको काफिला चिनार चोक हुँदै मकबूल भट शहीद चोकतर्फ अघि बढिरहेका बेला सुरक्षा बलले गोली चलाएको आरोप लगाए।
उनका अनुसार मृतकमध्ये आन्दोलनका संस्थापक उमर नाजिर कस्मिरीका कान्छा भाइ उस्मान नाजिरसमेत छन्। अन्य मृतकहरू खैगला, कोटली, तत्तापानी, बञ्जा–बासपुर, छोटा गाला र हवेली क्षेत्रका रहेको उनको दाबी छ। दुई जना मृतक बलुच समुदायका सहभागी रहेको पनि उनले बताएका छन्।
असलमले घटनामा करिब दुई दर्जन प्रदर्शनकारी घाइते भएको दाबी गर्दै विदेशमा रहेका कश्मीरी समुदायलाई घटनाविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन आग्रह गरेका छन्। उनले पाकिस्तानी दूतावास, संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूमा विरोध जनाउँदै आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्न अपिल गरेका छन्।
उनले मिरपुर र मुजफ्फराबाद क्षेत्रमा इन्टरनेट तथा मोबाइल सेवा अवरुद्ध गरिएको दाबी पनि गरेका छन्। सञ्चार सेवा बन्द भएका कारण आन्दोलनकारीहरू पैदल यात्रा गर्दै आगामी तीनदेखि चार दिनभित्र मुजफ्फराबाद पुग्ने योजनामा रहेको उनको भनाइ छ। उनका अनुसार आन्दोलनकारीहरूले पहिलो रात मकबूल भट शहीद चोकमा बिताउनेछन्।
अर्का एक प्रत्यक्षदर्शीले प्रदर्शनकारीहरू सेतो झण्डा बोकेर शान्तिपूर्ण रूपमा रावलकोटको चाँदनी चोक पुगेका बेला उनीहरूमाथि सुरक्षा बलले बल प्रयोग गरेको आरोप लगाए। आन्दोलन पाकिस्तान वा पाकिस्तानी सेनाविरुद्ध नभई आफ्ना अधिकारका लागि भएको दाबी गर्दै उनले सुरक्षा बललाई पछि हट्न आग्रह गरे।
उनले पनि क्षेत्रमा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध रहेको दाबी गर्दै विदेशमा रहेका कश्मीरी समुदायलाई घटनाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन आग्रह गरे।
प्रदर्शनकारीमाथि गोली चलाइएको, १४ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको लगायतका विवरण आन्दोलनसँग सम्बन्धित व्यक्ति तथा प्रत्यक्षदर्शीहरूको दाबीमा आधारित छन्। घटनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन। पाकिस्तानी अधिकारीहरूको आधिकारिक प्रतिक्रिया प्राप्त भएपछि घटनाको थप विवरण स्पष्ट हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया