काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए।

नेपाली कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले श्रेष्ठको निधन भएको पुष्टि गरेका छन्। उनका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ।

स्याङ्जाबाट पटक–पटक संसदीय निर्वाचनमा निर्वाचित श्रेष्ठले सरकारमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। उनले भौतिक योजना तथा निर्माण, वन तथा भूसंरक्षण, उद्योग र शिक्षा मन्त्रालयको नेतृत्व गरेका थिए। उनी उपप्रधानमन्त्रीसमेत बनेका थिए।

श्रेष्ठ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकको जिम्मेवारीमा समेत रहेका थिए। तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बनेका उनी पार्टीको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय थिए।

श्रेष्ठ विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा जोडिएका थिए। उनी २०१७ सालदेखि राजनीतिक गतिविधिमा सक्रिय रहँदै २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ को दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी भएका थिए।

लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलन तथा शान्ति प्रक्रिया अघि बढाउने क्रममा श्रेष्ठले अग्रणी भूमिका निर्वाह गरेका थिए।

श्रेष्ठका तीन छोरा र छ छोरी छन्।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com