काठमाडौं । नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाएको छ।
ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार श्रेष्ठको निधन भएपछि कांग्रेसले बुधबार (साउन १३ गते) बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।
बैठकले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्नेछ।
यसैबीच, दिवंगत नेता श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ। पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेपछि उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने कांग्रेसले जनाएको छ।
श्रेष्ठको निधनले नेपाली कांग्रेससँगै नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको भन्दै पार्टीले गहिरो दुःख व्यक्त गरेको छ।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया