काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्य संयन्त्रमा आवश्यकताभन्दा बढी सल्लाहकार नियुक्त गरेर स्रोतको दुरुपयोग भइरहेको भन्दै ऊर्जा मन्त्रालयको समेत नाम लिएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले त्यसको खण्डन गरेका छन्।

अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको दाबी गर्दै आफ्नो मन्त्रालयले भने मितव्ययिता अपनाएको बताएका थिए। सरकारी निकायमा ठूलो संख्यामा सल्लाहकार नियुक्त गर्ने प्रवृत्तिले राज्यकोषमाथि अनावश्यक भार थपिएको उनको भनाइ थियो।

तर, ऊर्जामन्त्री श्रेष्ठले अर्थमन्त्रीको उक्त दाबी तथ्यसँग मेल नखाने बताएका छन्। उनले ऊर्जा मन्त्रालयमा हालसम्म एकजना मात्रै सल्लाहकार नियुक्त गरिएको र उनी पनि अवैतनिक रहेको जानकारी दिएका छन्।

मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा व्यापार तथा पूर्वाधारसम्बन्धी विषयमा पहिलो सल्लाहकारका रूपमा नियुक्त गरिएको जनाउँदै कुनै तलब तथा सुविधा नदिइने स्पष्ट पारेका हुन्।

कँडेललाई स्वागत गर्दै मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहिलो सल्लाहकार अवैतनिक (ऊर्जा व्यापार तथा पूर्वाधार) नियुक्त गरेको छ। उहाँको विज्ञता र अन्तर्राष्ट्रिय अनुभवले नेपालको ऊर्जा क्षेत्रमा नीतिगत सुधार ल्याउन मद्दत गर्नेछ।’

यससँगै सरकारी निकायमा सल्लाहकार नियुक्तिको विषयलाई लिएर अर्थमन्त्री वाग्ले र ऊर्जामन्त्री श्रेष्ठको भनाइबीच फरक देखिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com