काठमाडौं । सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले असन्तुष्टि जनाएका छन्।

बुधबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले मुलुकमा देखिएको पछिल्लो परिस्थितिमा सबै राजनीतिक दल र पक्षलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

उनले सरकारलाई अप्ठ्यारोमा पार्ने कांग्रेसको कुनै उद्देश्य नरहेको स्पष्ट पार्दै आवश्यक परे सरकारसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको बताए।

‘यो बेला सबैलाई जोड्ने प्रयास गर्नुपर्छ। हामी सरकारलाई अप्ठ्यारोमा पार्न चाहँदैनौँ, सरकारसँग मिलेर काम गर्न चाहन्छौँ,’ थापाले भने, ‘तर यस्तो अवस्थामा प्रधानमन्त्रीले भाउ खोजेर वा ठालु भएर बस्ने होइन, सबैलाई समेटेर अघि बढ्नुपर्छ।’

प्रधानमन्त्रीले राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै थापाले वर्तमान परिस्थितिमा प्रधानमन्त्रीको सक्रिय नेतृत्व आवश्यक रहेको बताए।

‘प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुहोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने।

थापाले पछिल्लो परिस्थितिमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए। नेपाली कांग्रेसले पनि त्यसका लागि आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने उनको भनाइ छ।

‘यस्तो बेला धार्मिक सहिष्णुताका लागि हामी आफ्नो भूमिका निर्वाह गर्छौँ,’ उनले भने।

मुलुकमा गम्भीर समस्या उत्पन्न हुँदा विगतमा राजनीतिक दलहरूबीच मतभेद रहे पनि प्रधानमन्त्रीसहित सबै दलका नेताहरू एक ठाउँमा बसेर छलफल गर्ने गरेको स्मरण गर्दै थापाले अहिले पनि त्यही अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए।

सुनसरीको कप्तानगञ्ज घटनालगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरुङ भने सहभागी भएनन्।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com