काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगले निष्पक्ष ‘रेफ्री’को भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनले आयोग आफैँ खेलाडी बन्न खोज्नेभन्दा निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिए।
बुधबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा धारणा राख्दै पूर्वमन्त्रीसमेत रहेका पुनले कतिपय अवस्थामा निर्वाचन आयोग आफैँ ‘खेलाडी’ बन्न खोजेको जस्तो देखिने गरेको भन्दै त्यसबाट बच्नुपर्ने बताए।
उनले सूचना प्रविधिको तीव्र विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले निर्वाचन प्रणालीसामु नयाँ चुनौती खडा गरेको उल्लेख गरे। आगामी पाँच वर्षमा निर्वाचनको स्वरूप नै व्यापक रूपमा परिवर्तन हुन सक्ने भन्दै उनले प्रविधिमैत्री निर्वाचन प्रणाली विकास गर्न आयोगले विशेष पहल गर्नुपर्ने बताए।
विशेषगरी ‘डिपफेक’ र एआईको दुरुपयोगबाट निर्वाचन प्रचार तथा उम्मेदवारको छविमा पर्न सक्ने असरप्रति आयोग गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
‘अहिले डिपफेक र अल्गोरिदमको जमाना छ। हामी प्रचारमा नगए पनि हाम्रा नक्कली भिडियो र आवाजहरू प्रयोग हुन सक्छन्,’ पुनले भने।
उनले विदेशमा रहेका नेपाली तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले ठोस पहल गर्नुपर्ने बताए। मतदानका दिन सार्वजनिक यातायात पूर्ण रूपमा बन्द हुँदा मतदाता सहभागिता प्रभावित हुने गरेको उल्लेख गर्दै सुरक्षा चुनौतीलाई ध्यानमा राखी यातायात सहज बनाउने व्यवस्था गर्नुपर्ने सुझाव पनि उनले दिए।
दलहरूको आन्तरिक लोकतन्त्र सुदृढ बनाउन निर्वाचन आयोगले आवश्यक सहजीकरण गर्न सक्ने भए पनि दलभित्रको विवादमा आयोग आफैँ पक्षधर देखिन नहुने पुनले बताए। आयोगका निर्णय पारदर्शी, निष्पक्ष र पूर्वानुमान गर्न सकिने खालका हुनुपर्नेमा उनले जोड दिए।
निर्वाचन प्रचारमा समान पहुँच सुनिश्चित गर्न आयोगले डिजिटल माध्यमको प्रभावकारी प्रयोग गर्न सक्ने उनको सुझाव छ। विगतमा रेडियो नेपाल र गोरखापत्रमा उम्मेदवारलाई निश्चित स्थान उपलब्ध गराउने अभ्यास रहेको स्मरण गर्दै पुनले अब आयोगले नै डिजिटल माध्यममार्फत उम्मेदवारका प्रचार सामग्री प्रसारण गर्ने व्यवस्था मिलाए निर्वाचन खर्च घट्नुका साथै सबै उम्मेदवारलाई समान अवसर मिल्ने बताए।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया