काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा विराटनगरमा बसेको सर्वदलीय बैठकले विभिन्न निर्णय गरेको छ।

बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताको परिवारलाई प्रदेश सरकारका तर्फबाट दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै, आगजनीबाट क्षति पुगेका घर, पसल तथा कवल र घाइतेहरूको उपचार तथा राहतका लागि ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए।

बैठकले मृतक मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक दल, सामाजिक क्षेत्र र प्रशासनबीच समन्वय गरी आवश्यक पहल गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यसका लागि स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने भएको छ।

सामुदायिक तहमा मेलमिलाप र आपसी सद्भाव कायम गर्न स्थानीय प्रशासनसँगको समन्वयमा सद्भाव यात्रा, सार्वजनिक अपिललगायत कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकले सबै धार्मिक समुदायका संघ–संस्थालाई संयुक्त अपिल जारी गरी सामाजिक सद्भाव कायम गर्न समन्वय र सहजीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

त्यस्तै, सीमाक्षेत्रबाट हुन सक्ने सम्भावित अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता बढाउने निर्णय गरिएको छ। घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग आवश्यक सहयोगका लागि अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com