काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न नौ वटा विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। बैठकले प्रशासन, खानी तथा खनिज, राहदानी, बालश्रम, मानव बेचबिखन, आन्तरिक हवाई सेवा, मेलमिलाप तथा कर्मचारी सञ्चयकोषलगायतका विषय समेटिएका विधेयक अघि बढाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त तथा सुविधासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन संशोधन तथा एकीकरणसम्बन्धी विधेयक र सङ्क्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

त्यस्तै, राहदानी ऐन संशोधनसम्बन्धी विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमनसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलापसम्बन्धी ऐन संशोधन विधेयक र कर्मचारी सञ्चयकोष ऐन संशोधनसम्बन्धी विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।

बैठकले विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई अनुसन्धान अधिकारी तोक्ने निर्णयसमेत गरेको छ।

यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको छ।

सरकारका पछिल्ला निर्णयले कानुनी सुधार, वित्तीय अपराध अनुसन्धान, सहकारी व्यवस्थापन तथा प्राविधिक शिक्षासँग सम्बन्धित क्षेत्रमा नीतिगत तथा कानुनी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com