काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले घटनाबारे सरकारको कडा आलोचना गर्दै शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाइन्।

संसदमा बोल्दै थापाले झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको तथा दर्जनौँ नागरिक घाइते भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिन्। उनले नागरिकको ज्यान जाने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले संसद् र जनतालाई स्पष्ट जवाफ दिनुपर्ने बताइन्।

उनले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरिन्। साथै, घटनाको नैतिक र प्रशासनिक जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ थियो।

प्रमुख सचेतक थापाले प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि पनि प्रश्न उठाइन्। उनले विगतमा वर्तमान प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका अभिव्यक्तिको स्मरण गर्दै अहिलेको मौनतालाई लिएर कटाक्ष गरिन्।

‘हिजो आक्रोश व्यक्त गर्ने प्रधानमन्त्री आज किन मौन हुनुहुन्छ? सदनमा भावुक देखिनुहुने गृहमन्त्री अहिले किन बोलिरहनुभएको छैन? के सरकारको दृष्टिमा नागरिकको पीडा र मृत्युको मूल्य फरक–फरक हुन्छ?’ भन्दै उनले सरकारको जवाफदेहितामाथि प्रश्न उठाइन्।

थापाले नेतृत्वको वास्तविक परीक्षा संकटका बेला हुने उल्लेख गर्दै यस्ता कठिन परिस्थितिमा सरकार नागरिकको अभिभावकका रूपमा दृढतापूर्वक उभिनुपर्ने धारणा राखिन्। सरकारको मौनता र निष्क्रियताले नागरिकमा असुरक्षा, अन्योल र अविश्वास बढाएको उनको भनाइ थियो।

उनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै राजनीतिक दल, सामाजिक संस्था तथा नागरिकलाई संयमता अपनाउन पनि आग्रह गरिन्। नेपालीपन, सहअस्तित्व र आपसी विश्वास नै समाजको साझा आधार भएकाले कुनै पनि प्रकारको साम्प्रदायिक उत्तेजना वा विभाजनकारी गतिविधिलाई प्रश्रय दिन नहुनेमा उनले जोड दिइन्।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com