काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाबारे सरकारले स्पष्ट र तथ्यपरक जवाफ दिनुपर्ने माग गरेकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद ओलीले घटनाका क्रममा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको तथा दर्जनौँ नागरिक घाइते भएको विषयलाई गम्भीर भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाइन्।
उनले नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो, गोली चलाउने आदेश कसले दियो र त्यसको जिम्मेवारी कसले लिन्छ भन्ने विषयमा सरकारले संसद् र जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताइन्।
‘कप्तानगञ्जमा गोली कसले चलायो? कसको आदेशमा आफ्नै नागरिकमाथि हतियार प्रयोग गरियो? यसको सत्य पीडित परिवार र सम्पूर्ण नेपाली जनतासामु सार्वजनिक हुनुपर्छ,’ उनले भनिन्।
सांसद ओलीले लोकतान्त्रिक व्यवस्थामा आफ्नै नागरिकमाथि घातक बल प्रयोग हुनु अत्यन्तै गम्भीर र दुःखद घटना भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरिन्।
उनले राज्यले बल प्रयोगलाई समाधानको माध्यम बनाउन नहुने उल्लेख गर्दै शान्ति–सुरक्षा कायम गर्ने नाममा नागरिकमाथि गोली चलाइनु स्वीकार्य हुन नसक्ने धारणा पनि व्यक्त गरिन्।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया