काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सत्ता साझेदार नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले विश्वासको मतमार्फत सरकारको निरन्तरता सुनिश्चित गर्ने तयारी गरेका हुन्।
बिहीबार ललितपुरमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत लिन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। साथै, सरकारलाई आवश्यक समर्थन जुटाउन प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग संवाद र समन्वयलाई तीव्र बनाउने जिम्मेवारी पनि दिएको छ।
संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार एमालेको समर्थन फिर्तापछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै सरकार जोगाउन आवश्यक संख्याबल सुनिश्चित गर्ने प्रयास सुरु गरिएको छ। यसका लागि विभिन्न दलसँग औपचारिक र अनौपचारिक दुवै तहमा छलफल अघि बढाइने उनले बताए।
बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग सहकार्यको वातावरण निर्माण गरी सरकारलाई आवश्यक समर्थन जुटाउने रणनीति पनि तय गरेको छ।
यसैबीच, बैठकले नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। उनको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो।
त्यसैगरी, सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। कांग्रेस संसदीय दलले थप हिंसा रोक्न तथा धार्मिक र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम, संवाद र सहकार्यको बाटो अपनाउन अपिल गरेको छ।
बैठकले बागमती प्रदेश सरकारलाई संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रदेशभर शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ।
बैठकमा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा, रामकृष्ण चित्रकारलगायत नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्यहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया