काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकादेखि सिरहासम्म फैलिएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बल प्रयोग तत्काल रोक्न र संवादमार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत बिहिवार धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले देवानगञ्जमा उत्पन्न तनावका क्रममा स्थानीय युवा ओमप्रकाश मेहता तथा सिरहामा गोली लागेर गणेश यादवको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै, विभिन्न स्थानमा थप नागरिकले ज्यान गुमाएको र अन्य सर्वसाधारण गम्भीर घाइते भएको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन्।
ओलीले हिंसामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
देश संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै ओलीले सम्पूर्ण नागरिक, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालालाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन्। उनले भ्रामक प्रचारको पछि नलाग्न तथा जनतालाई विभाजित गर्ने कुनै पनि प्रयासप्रति सचेत रहन आग्रह गरेका छन्।
सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था चुनौतीपूर्ण अवस्थामा पुग्दा पनि सरकारले उदासीनता देखाएको, अत्यधिक बल प्रयोग गरेको र प्रभावकारी पहल नगरेको आरोप लगाएका छन्। नागरिकको जीउधनको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग माग गरेका छन्।
एमाले अध्यक्ष ओलीले मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला प्रमुख राजनीतिक दलहरूबीच सहकार्य अपरिहार्य भएको पनि बताएका छन्। उनले राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सबै दलले साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।
उनले द्वन्द्व र हिंसाले कुनै पनि समस्याको समाधान नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै वर्तमान संकटको निकास सम्भव हुने बताएका छन्।
ओलीले राष्ट्रको शान्ति, सुरक्षा, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षणका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक–सामाजिक अगुवाहरूलाई एकजुट भएर भूमिका निर्वाह गर्न पनि आह्वान गरेका छन्।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया