काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई तत्काल आफ्नो निर्वाचन क्षेत्र फर्किएर सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आकस्मिक रूपमा बोलाइएको बैठकमा लामिछानेले सुनसरीको घटनापछि विकसित संवेदनशील परिस्थितिबारे सांसदहरूलाई जानकारी गराउँदै समुदायबीच विश्वास र सहकार्य कायम राख्न प्रत्यक्ष रूपमा जुट्न आग्रह गरेका हुन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका सांसद रहवर अन्सारीले सभापति लामिछानेले सांसदहरूलाई काठमाडौंमा बसिरहनुभन्दा आफ्नै जिल्ला र गाउँ–टोलमा पुगेर सामाजिक सद्भाव कायम गर्ने अभियानमा लाग्न स्पष्ट निर्देशन दिएको बताए।

उनका अनुसार लामिछानेले बाह्य तत्व वा कुनै समूहले सामाजिक सद्भाव भड्काउने प्रयास गरे त्यसलाई स्थानीय तहमा समन्वय र संवादमार्फत शान्त बनाउन सांसदहरूले अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।

‘सभापतिले प्रत्येक सांसदलाई आफ्नो क्षेत्रमै गएर स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालासँग सहकार्य गर्दै सामाजिक सद्भावको सन्देश फैलाउन निर्देशन दिनुभएको छ,’ अन्सारीले भने, ‘समाजमा द्वेष फैलाउने कुनै पनि गतिविधिलाई रोक्न पार्टीका जनप्रतिनिधिले जिम्मेवार भूमिका खेल्नुपर्छ भन्ने उहाँको स्पष्ट सन्देश थियो।’

अन्सारीले सभापतिको निर्देशनअनुसार रास्वपाका सांसदहरू अब आ–आफ्नो जिल्लातर्फ फर्किने र स्थानीय तहमा समन्वयात्मक भूमिका निर्वाह गर्ने जानकारी दिए।

उनले सुनसरीमा गोली चल्दा नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै अहिलेको अवस्थामा सामाजिक सद्भाव जोगाउनु सबै राजनीतिक दल र नागरिकको साझा दायित्व भएको बताए।

‘देशको एकता र सामाजिक सद्भाव सुरक्षित रहे मात्रै सबै नागरिक सुरक्षित हुन्छन्,’ उनले भने, ‘यही सन्देश लिएर हामी आफ्ना क्षेत्रमा जानेछौँ र राज्यका सबै संयन्त्रसँग मिलेर शान्ति कायम गर्ने प्रयासमा जुट्नेछौँ।’

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com