काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिराहा लगायतका क्षेत्रमा भएका घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार गम्भीर रहेको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि उनले जानकारी दिए।
गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको, गृहमन्त्री घटनास्थलमै पुगेर अनुगमन गरिरहेको तथा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय परिचालन गरिएको प्रधानमन्त्रीले बताए। राष्ट्रिय सुरक्षा परिषद् र सर्वदलीय बैठकमार्फत पनि आवश्यक निर्णयहरू गरिएको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा फैलाइने अफवाह, असत्य सूचना र घृणाजन्य सामग्रीबाट सचेत रहन आग्रह गर्दै सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनामात्र विश्वास गर्न सबैलाई अपिल गरे।
उनले कुनै एक स्थानको घटनाका आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु अनुचित हुने उल्लेख गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता जोगाउन सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया