काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कसियागञ्जमा भएको दुःखद् घटनामा ज्यान गुमाएका ओम प्रकाश महता र जय प्रकाश महताका अभिभावक र गृह मन्त्रालयबिच सहमति भएको छ। गत साउन १० गते घटेको घटनालाई लिएर भएको छलफलपछि गृह मन्त्रालयले पीडित पक्षका मागहरू यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

सम्झौताअनुसार मृतक दुवैलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाइनेछ भने मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ। त्यसैगरी, साउन १० गते राति भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अगाडि बढाइनेछ।

देवानगञ्ज गाउँपालिका-३ स्थित मदरसाको कानुनी हैसियत र सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिनेछ। यसबाहेक, प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने र घटना अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानुन बमोजिम यथाशीघ्र कार्यान्वयन गरिनेछ।

मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गरिनेछ। यससँगै आज दिउँसो २:०० बजे मृतकको अन्तिम संस्कार गर्ने सहमति भएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com