काठमाडौं । कर्णाली प्रदेशसभा सदस्यले संविधानको मर्मअनुसार प्रदेशलाई आफ्ना गतिविधि गर्न दिए मात्रै वास्तविक अर्थमा संघीयता कार्यान्वयन हुने धारणा राखेका छन्।
संघबाट प्रदेश चलाउने गतिविधिका कारण संघीयताको वास्तविक अभ्यास हुन नसकेको उनीहरूको भनाइ थियो। प्रदेशसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले संघीयता कार्यान्वयनमा सबै पक्ष इमान्दार हुनुपर्ने बताए।
उनले प्रदेश सरकार गठनको प्रक्रिया र त्यसले दिएको सन्देशको चर्चा गर्दै ‘काठमाडौंमा पानी पर्दा सुर्खेतमा छाता ओढ्ने संस्कार कहिलेसम्म रहने हो’ भनी प्रश्न गरे।
प्रदेशसभा सदस्य राजकुमार शर्माले सबै अधिकार केन्द्रमा केन्द्रित गरेर संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिने बताए। उनले कर्णालीसहित मुलुकको समृद्धि र रूपान्तरणका लागि सहमति र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
बैठकमा नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सहमति र सहकार्यबाट कर्णाली प्रदेश अघि बढेको उल्लेख गर्दै वर्तमान सरकारले अब बजेट कार्यान्वयनलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले प्रदेश सरकारले सुरु गरेका राम्रो कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कर्मको परिणाम र भाग्य दुवैसँगै आउने भएकाले नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गरेका थिए। उनले सुशासनविपरीत काम गरे ठूलो समस्या आउन सक्ने चेतावनी दिँदै अघिल्लो सरकारले पूरा गर्न नसकेका काम वर्तमान सरकारले सम्पन्न गर्नुपर्ने बताए।
बैठकमा प्रदेशसभा सदस्य सन्तोषी शाही, इन्दिरा शाही, उर्मिला विश्वकर्मा, दक्षिणा शाही र पूर्णबहादुर खत्रीले सरकार परिवर्तन भए पनि जनताका समस्या यथावत् रहेकाले ती समस्या समाधानतर्फ सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने धारणा राखेका थिए। प्रदेशसभाको अर्को बैठक आज अपराह्न ३ः०० बजे बस्नेछ।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया