सुनसरी । गृहमन्त्री सुधन गुरुङले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित छानबिन हुने बताएका छन्। उनले घटनाका क्रममा भएको गोली प्रहारको विषयमा फरेन्सिक परीक्षणसमेत गरिने जानकारी दिएका छन्।
घटनास्थलको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले अनुसन्धान कुनै एक समुदायमा सीमित नरहने स्पष्ट पारे। उनका अनुसार घटनासँग सम्बन्धित सबै पक्ष, धार्मिक स्थल तथा अन्य आवश्यक स्थानलाई अनुसन्धानको दायरामा ल्याइनेछ।
“छानबिन धेरै विषयमा गर्न बाँकी छ। मठ–मन्दिर, मस्जिदलगायत आवश्यक सबै स्थान र पक्षबारे अनुसन्धान हुन्छ। कुनै एक समुदायलाई मात्रै लक्षित गरेर होइन, समग्र घटनाको वस्तुनिष्ठ अध्ययन गरिन्छ,” उनले भने।
दर्ताविनै सञ्चालनमा रहेका मदरसाबारे पत्रकारहरूले उठाएको प्रश्नमा गृहमन्त्री गुरुङले सरकारले त्यसतर्फ पनि आवश्यक कदम चाल्ने संकेत दिए। “पहिले त्यसतर्फ पर्याप्त ध्यान पुग्न सकेन, अब आवश्यक प्रक्रिया अघि बढाउँछौँ,” उनले प्रतिक्रिया दिए।
घटना भएको यति दिनपछि मात्रै गृहमन्त्री घटनास्थल पुगेको भन्ने प्रश्नमा उनले गृह मन्त्रालयको जिम्मेवारी केवल घटनास्थल पुग्ने मात्र नभई समग्र शान्ति–सुरक्षा रणनीति तय गर्नु पनि रहेको बताए।
“म यहाँ आउनु मात्रै पर्याप्त हुँदैन। प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीसँग समन्वय गरेर समग्र सुरक्षा रणनीति बनाउनुपर्ने हुन्छ। घाइतेको उपचारलाई प्राथमिकता दिँदै आवश्यक छलफल र निर्णयहरू गरिएका छन्,” उनले भने।
गृहमन्त्री गुरुङले नेपाल सबै जातजाति, भाषा, संस्कृति र धर्मावलम्बीको साझा देश भएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम राख्न सबैलाई संयम अपनाउन आग्रह गरे। साथै उनले सरकारले जनताको चाहना र कानुनअनुसार निष्पक्ष ढंगले काम गर्ने प्रतिबद्धता दोहोर्याए।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया