काठमाडौं । पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रो पिकमा हिमपहिरोपछि बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पूर्जासहित १० जना आरोहीको खोज तथा उद्धार अभियान निरन्तर जारी छ। यद्यपि, उनीहरूको अवस्थाबारे हालसम्म कुनै आधिकारिक पुष्टि सार्वजनिक भएको छैन।
आरोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाका अनुसार निर्मल पूर्जाको ट्रयाकर बिहीबार बिहान करिब ६:१५ बजेसम्म सक्रिय देखिएको छ। उनले सामाजिक सञ्जालमार्फत ट्रयाकरको गतिविधि देखिने तस्बिर सार्वजनिक गर्दै त्यसले बेपत्ता आरोहीहरू अझै उद्धारको प्रतीक्षामा हुन सक्ने संकेत गरेको बताएका छन्।
ब्रो पिकमा आएको हिमपहिरोमा परी ६ नेपालीसहित १० जना आरोही सम्पर्कविहीन भएका छन्। प्रतिकूल मौसम र दुर्गम भौगोलिक अवस्थाका बीच उद्धार टोलीले खोजी अभियानलाई निरन्तरता दिएको छ।
अधिकृत निकायबाट औपचारिक विवरण आउन बाँकी रहेकाले बेपत्ता आरोहीहरूको अवस्थाबारे थप जानकारीको प्रतीक्षा भइरहेको छ।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया