काठमाडौं । पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोज तथा उद्धार अभियानका क्रममा शुक्रबार चार जनाको शव फेला परेको छ।
पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार फेला परेका चार शवमध्ये दुई जनाको पहिचान भएको छ। पहिचान हुनेमा नेपालका पुरबहादुर गुरुङ र ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी रहेका छन्। बाँकी दुई शवको सनाखत प्रक्रिया जारी रहेको जनाइएको छ।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार दुर्घटनाग्रस्त आरोहण टोलीमा कुल १० जना सदस्य थिए। टोलीमा छ नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही सहभागी थिए।
अल्पाइन क्लबका महासचिव अयाज शिग्रीले विभिन्न आरोहण टोलीले संयुक्त रूपमा शिखरतर्फ उक्लिने क्रममा हिमपहिरो आएको बताएका छन्। उनका अनुसार सम्पर्कविहीन केही आरोहीबाट प्राप्त जीपीएस संकेतले हिमपहिरोले उनीहरूलाई करिब एक हजार मिटर तल बगाएको र त्यसपछि उनीहरू हिमक्षेत्रमै फसेको देखाएको थियो।
उद्धार टोलीले अझै सम्पर्कविहीन रहेका अन्य आरोहीहरूको खोजीलाई निरन्तरता दिएको छ। दुर्घटनास्थलको प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाले उद्धार कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया