काठमाडौं । हिन्दु र मुस्लिम समुदायका प्रमुख धार्मिक अगुवाहरूले धर्मका नाममा हिंसा, उत्तेजना र सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण नागरिकलाई संयुक्त रूपमा आह्वान गरेका छन्।

विश्व हिन्दु महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा–ए–नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासङ्घका सचिवालय सदस्य राजुराज फुयाल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाही ले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै शान्ति, सहिष्णुता र सामाजिक एकताको पक्षमा उभिन सबैलाई आग्रह गरेका हुन्।

उनीहरूले केही स्वार्थ समूहले धर्मलाई माध्यम बनाएर हिंसात्मक गतिविधि फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यस्ता गतिविधिप्रति सचेत रहन र कुनै पनि प्रकारको घृणा, उत्तेजना वा विभाजनकारी अभियानमा सहभागी नहुन नागरिकलाई अपिल गरेका छन्।

संयुक्त विज्ञप्तिमा सबै धर्मको मूल भावना मानवकल्याण, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र भाइचाराको प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै नेपालजस्तो बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा यी मूल्यहरूको संरक्षण राष्ट्रिय एकताको आधार भएको बताइएको छ।

धार्मिक अगुवाहरूले पछिल्ला दिनमा सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाप्रति दुःख व्यक्त गर्दै कुनै पनि विवाद वा घटनाका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुग्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

उनीहरूले ती घटनाको निष्पक्ष छानबिन गरी कानूनविपरीत गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउन, पीडित परिवारलाई राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक नेतृत्व, नागरिक समाज, सञ्चारमाध्यम तथा सबै सरोकारवालालाई आपसी संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

संयुक्त अपिलमा सबै नेपालीलाई विधिको शासन, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र सामाजिक सद्भावको पक्षमा दृढतापूर्वक उभिन तथा हिंसा, घृणा र विभाजन फैलाउने कुनै पनि गतिविधिलाई स्पष्ट रूपमा अस्वीकार गर्न पनि आह्वान गरिएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com