काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराइदिने नाममा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेको आरोपमा भूमि प्रशासन कार्यालय लगनखेलका कर्मचारीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार कार्यालयमा कार्यरत नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल ले मिलेमतोमा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिँदै जग्गा बकसपत्रको काम गराइदिने बहानामा तीन लाख रुपैयाँ घुस मागेको भन्ने उजुरीपछि कारबाही गरिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विशेष टोलीले ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट उनीहरूलाई तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो। घटनास्थलबाट स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ समेत बरामद गरिएको उनले जानकारी दिए।
अख्तियारले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार













प्रतिक्रिया