अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारी गरिएको ठूलो सैन्य आक्रमण स्थगित गरिएको घोषणा गरेका छन्। इरानसँग सम्भावित सम्झौताका आधारभूत विषयमा सहमति नजिक पुगेको दाबी गर्दै उनले कूटनीतिक समाधानलाई प्राथमिकता दिएको बताएका हुन्।

शनिबार राति आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले सम्झौताका मुख्य आधारमा प्रगति भएको उल्लेख गर्दै प्रस्तावित आक्रमण रोकिएको जानकारी दिएका हुन्। यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै सैन्य कारबाहीको तयारी गरिरहेको समाचार सार्वजनिक गरेका थिए।

ट्रम्पका अनुसार इरानसहित मध्यपूर्वका केही मुलुकले आक्रमण नगर्न आग्रह गरेपछि उक्त निर्णय लिइएको हो। उनले सम्भावित सम्झौताले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा सञ्चालनमा ल्याउने र इरानको आणविक कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्ने दाबी गरेका छन्। साथै, सम्झौता छिट्टै निष्कर्षमा पुग्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

यद्यपि, ट्रम्पको दाबीबारे इरानले औपचारिक प्रतिक्रिया दिएको छैन। यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका वा इजरायलबाट कुनै पनि सैन्य आक्रमण भए त्यसको उपयुक्त जवाफ दिइने चेतावनी दिएका थिए।

यसैबीच, अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार साउदी अरबका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन संवाद गर्दै सैन्य कारबाही रोक्न र कूटनीतिक वार्तालाई निरन्तरता दिन आग्रह गरेका थिए।

तनाव बढिरहेका बेला अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वका १० देशमा रहेका आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गर्दै आवश्यक सावधानी अपनाउन तथा अवस्था जटिल भए त्यहाँबाट बाहिरिने विकल्पसमेत विचार गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com