काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्ला दिनहरूमा पूर्वी तराईका विभिन्न जिल्लामा देखिएको सामुदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासनको संरक्षणका लागि सबै नागरिकलाई जिम्मेवार बन्न आह्वान गरेकी छन्।

२९औँ तुलसीलाल स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले विविधताबीचको एकता नै मुलुकको सबैभन्दा ठूलो शक्ति भएको बताइन्।

उनले सुनसरीसहित पूर्वी तराईका केही जिल्लामा पछिल्ला दिनहरूमा देखिएको तनाव र हिंसात्मक घटनाले सबैको ध्यानाकर्षण गराएको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा संयमता अपनाउन आवश्यक रहेको धारणा राखिन्।

भण्डारीले आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको साझा पहिचान र राष्ट्रिय एकताको आधार भएको उल्लेख गर्दै कुनै पनि प्रकारका अफवाह, घृणा र विभाजनकारी गतिविधिबाट टाढा रहन आग्रह गरिन्।

‘वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई संयम अपनाउन, अफवाह र घृणाको राजनीति अस्वीकार गर्न तथा राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासनलाई सुदृढ बनाउन आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक आह्वान गर्दछु,’ उनले भनिन्।

भण्डारीले मुलुकको शान्ति, स्थिरता र सामाजिक सहअस्तित्वलाई कायम राख्न सबै राजनीतिक शक्ति, नागरिक समाज र आमनागरिकबीच सहकार्य र आपसी विश्वास अझ सुदृढ हुनुपर्नेमा पनि जोड दिइन्।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com