काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीमाथि तीव्र आलोचना गर्दै नेपाललाई असफल राष्ट्रतर्फ धकेल्ने योजनामा विदेशी शक्तिको प्रभाव बढाउन खोजिएको आरोप लगाएका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले देशको राष्ट्रिय स्वाधीनता, धार्मिक पहिचान र सामाजिक संरक्षामाथि चुनौती सिर्जना हुने गतिविधिप्रति आफू गम्भीर रहेको बताए।
उनले हिन्दु अधिराज्य स्थापनाको विषयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग यसअघि नै सहमति भएको दाबी गर्दै पछिल्लो समयमा त्यसबाट पछि हट्ने प्रयास भएको टिप्पणी गरे।
प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै प्रसाईंले राज्य सञ्चालन केवल सुरक्षा संयन्त्रको भरमा सम्भव नहुने बताए। उनका अनुसार कुनै पनि सरकार जनताको विश्वास, इतिहास र सभ्यताको सम्मानका आधारमा अघि बढ्नुपर्छ।
नेपालको पहिचान वैदिक सनातन, किरात र बौद्ध सभ्यतासँग जोडिएको उल्लेख गर्दै उनले ती ऐतिहासिक र सांस्कृतिक आधारलाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने धारणा राखे।
प्रधानमन्त्रीले हिन्दु राष्ट्र पुनःस्थापना सम्भव नरहेको अभिव्यक्ति दिएको भन्दै प्रसाईंले त्यसप्रति असन्तुष्टि व्यक्त गरे। उनले नेपाल हिन्दु राष्ट्र हुन नसक्ने हो भने त्यसको स्पष्ट वैकल्पिक अवधारणा सरकारसँग हुनुपर्ने जिकिर गरे।
धार्मिक पहिरन वा रुद्राक्षको माला लगाउँदैमा मात्रै हिन्दु धर्मको प्रतिनिधित्व नहुने उल्लेख गर्दै उनले धार्मिक पहिचानको नाममा समाजलाई विभाजित गर्ने गतिविधिप्रति सचेत रहन पनि आग्रह गरे।
प्रसाईंले वर्तमान राजनीतिक नेतृत्वले राष्ट्रिय पहिचान, सामाजिक एकता र जनभावनालाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने आवश्यकता औँल्याउँदै मुलुकको भविष्यप्रति सबै पक्ष गम्भीर हुनुपर्ने बताए।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया