बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार सीमा विवाद पुनः चर्किएको छ। स्थानीयवासीले भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गरी स्थानीयले निर्माण गरिरहेको अस्थायी बाँध भत्काएको आरोप लगाएका छन्।

स्थानीयका अनुसार दिउँसो करिब ३:३० बजे सादा पोसाक र हतियारसहित आएका करिब ७५ जना भारतीय एसएसबीका सदस्यले सुस्ता गाउँपालिका–५ को थारु टोल पुगेर स्थानीयले बाढी नियन्त्रणका लागि निर्माण गरिरहेको करिब १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काइदिएका हुन्।

घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार एसएसबी टोली दुई देशबीचको सीमा मानिने सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरी बाँध भत्काएको हो। स्थानीयले रोक्ने प्रयास गरे पनि ठूलो संख्यामा हतियारधारी सुरक्षाकर्मी आएकाले प्रतिरोध गर्न नसकिएको उनले बताए।

यसअघि पनि गत असारमा भारतीय सुरक्षाकर्मीले सोही क्षेत्रमा पुगेर बाँध निर्माण रोक्न दबाब दिएको स्थानीयको दाबी छ। त्यसपछि केही समय निर्माण कार्य रोकिएको थियो।

नेपाल–भारतबीच लामो समयदेखि विवादित मानिँदै आएको सुस्ता क्षेत्रमा स्पष्ट सीमा स्तम्भको अभाव, नारायणी नदीको धार परिवर्तन तथा सीमासम्बन्धी विवादका कारण पटक–पटक तनाव उत्पन्न हुँदै आएको स्थानीयको भनाइ छ।

घटनापछि सीमा क्षेत्रमा थप तनाव फैलिन नदिन सशस्त्र प्रहरी बल (एपीएफ) को टोली परिचालन गरिएको छ। सुरक्षा निकायले अवस्थाको निगरानी गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com