जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले धार्मिक आस्थाका आधारमा कुनै अभियान वा आन्दोलनमा सहभागी हुनु प्रत्येक नागरिकको व्यक्तिगत अधिकार भएको बताएका छन्।
आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दू सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेको विषयलाई लिएर उठेको विवादप्रति प्रतिक्रिया दिएका हुन्।
झाले वार्तामा सहभागी व्यक्ति रास्वपाको सदस्य भए पनि उनी हिन्दूवादी अभियन्ताका रूपमा सक्रिय रहन पाउने संवैधानिक अधिकार रहेको स्पष्ट पारे। राजनीतिक दलको सदस्य भएकै कारण कसैले सरकारसँग वार्ता गर्न नपाउने भन्ने धारणा उचित नभएको उनको भनाइ थियो।
‘हाम्रा कार्यकर्तामध्ये एक जना रास्वपाको सदस्य हुनुहुन्छ, तर उहाँ हिन्दूवादी अभियन्ता पनि हुनुहुन्छ। त्यो उहाँको व्यक्तिगत स्वतन्त्रताको विषय हो,’ उनले भने, ‘आन्दोलनलाई हिंसातर्फ लैजानुभन्दा संवाद र वार्तामार्फत समाधान खोज्नु नै लोकतान्त्रिक अभ्यास हो।’
रास्वपाको कुनै भ्रातृ संगठन नरहेको उल्लेख गर्दै उनले पार्टीका सदस्यहरूले आफ्नो धार्मिक आस्था अनुसारका गतिविधिमा व्यक्तिगत रूपमा सहभागी हुन सक्ने बताए।
धार्मिक विश्वास र राजनीतिक आबद्धतालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उल्लेख गर्दै झाले व्यक्तिगत आस्था र पार्टीको आधिकारिक नीतिलाई फरक–फरक रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरे।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया