काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालेन्द्र शाह नेतृत्वको सरकारलाई लक्ष्य गर्दै सबै पक्षलाई एकैसाथ खुसी पार्ने प्रयास अन्ततः असफलताको कारण बन्न सक्ने चेतावनी दिएका छन्।

गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र हिन्दू सम्राट सेना नेपालबीच १९ बुँदे सहमति भएपछि सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले प्रसिद्ध अंग्रेजी भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘म तिमीलाई सफलताको सूत्र त दिन सक्दिनँ, तर असफलताको निश्चित सूत्र भने भन्न सक्छु— त्यो हो, सबैलाई एकैचोटि खुसी पार्ने प्रयास गर्नु।’ साथै उनले युवा नेतृत्वको वर्तमान सरकारले यसबाट समयमै पाठ सिक्नुपर्ने सुझाव पनि दिएका छन्।

जनकपुरधाममा गृहमन्त्री गुरुङ नेतृत्वको सरकारी टोली र हिन्दू सम्राट सेना नेपालबीच भएको वार्तापछि १९ बुँदे सहमति भएको थियो। उक्त सहमतिसँगै हिन्दू सम्राट सेनाले जारी आन्दोलन तथा विरोधका सबै कार्यक्रम स्थगित गर्ने घोषणा गरेको छ।

संयुक्त हिन्दू मोर्चाले सरकारसमक्ष पेश गरेको १३ बुँदे मागपत्रमा थप ६ बुँदा समावेश गरी १९ बुँदे सहमति गरिएको हो। सहमतिअनुसार आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने, उनीहरूमाथिका मुद्दा नचलाउने तथा गोली चलाउने सुरक्षाकर्मीमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्ने विषय समेटिएको छ।

यस्तै, नेपाललाई हिन्दू राष्ट्रका विषयमा संसद्मा छलफल गराउने, धार्मिक स्थलहरूको व्यवस्थापन, सामाजिक सञ्जालमार्फत द्वेष फैलाउनेमाथि कारबाही, सीमा सुरक्षा सुदृढ गर्ने तथा नागरिकता सम्बन्धी विषयको छानबिन गर्ने विषयहरू पनि सहमतिमा समावेश छन्।

सुनसरीको देवानगञ्ज घटनापछि मधेश प्रदेशमा उत्पन्न तनाव समाधानका लागि गृहमन्त्री गुरुङ जनकपुर पुगेका थिए। त्यसक्रममा सरकार र हिन्दूवादी पक्षबीच भएको वार्ताले १९ बुँदे सहमतिको रूप लिएको हो।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com