काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहको करिब ३९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म काठ बिक्री तथा आपूर्तिबाट संकलन भएको आम्दानीलाई विभिन्न वन व्यवस्थापन तथा आयमूलक कार्यक्रमका नाममा खर्च भएको देखाएर अनियमितता गरिएको थियो।

झाडी सफाइ, अग्नि रेखा निर्माण, वृक्षारोपण, वन हेरालुको पारिश्रमिक, भैँसी तथा बाख्रा पालन, डढेलो नियन्त्रण र मौरीपालनजस्ता शीर्षकमा नक्कली बिल, झुट्टा विवरण र बनावटी कागजात तयार गरी रकम अपचलन गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा वन उपभोक्ता समूहका पदाधिकारी र लेखापरीक्षकबीचको मिलेमतोमा समितिको ३९ लाख १२ हजार ५६० रुपैयाँ ८४ पैसा हिनामिना भएको निष्कर्ष निकालिएको छ।

यस प्रकरणमा आयोगले समूहका पूर्वअध्यक्ष खीमबहादुर सावद, पदमसिंह सावद र हर्कबहादुर बुढा, सचिव बनौली रोकाय, पूर्णदेवी धामी र तुल्सी दानी, तथा कोषाध्यक्ष जमानसिंह धामी, रुद्रबहादुर बन्तोला र चक्रबहादुर सावद विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

त्यस्तै, लेखापरीक्षण प्रतिवेदनमा अनियमितता गरेको आरोपमा पाठक एण्ड एसोसियट्सका दर्तावाला लेखापरीक्षक डिल्लीराम पाठक र प्रेमबहादुर वी.सी. एण्ड कम्पनीका दर्तावाला लेखापरीक्षक प्रेमबहादुर वी.सी.लाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा १९(१) बमोजिम कसुर गरेको ठहर गर्दै बिगो असुल, सजाय र कानुनबमोजिम कारबाहीको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com