काठमाडौं । रोमानियाको पूर्वी सहर बकाउमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षका दुई नेपालीको ज्यान गएको स्थानीय अधिकारीहरूले जनाएका छन्। मृतकको औपचारिक परिचय भने सार्वजनिक गरिएको छैन।
बकाउस्थित आपतकालीन अवस्था निरीक्षणालय (आईएसयू) का अनुसार बिहान करिब ३:२१ बजे चिमिएई सडक क्षेत्रको रेलमार्गमा हिँडिरहेका दुई जनालाई तीव्र गतिमा आएको रेलले ठक्कर दिएको थियो।
दुर्घटनापछि तत्कालै घटनास्थलमा पुगेको उद्धार टोलीले दुवैलाई मृत अवस्थामा फेला पारेको जनाएको छ।
स्थानीय प्रशासनका अनुसार उनीहरू रेलमार्गमा कसरी पुगे, दुर्घटना कुन परिस्थितिमा भयो तथा त्यसका वास्तविक कारण के थिए भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया