काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे गठन गरिएको न्यायिक छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनमा घटनाको कारण र त्यसबाट देखिएका कमजोरी औँल्याउँदै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, राइड सेयरिङ नियमन र मानसिक स्वास्थ्य सेवासहित चार क्षेत्रमा सुधार गर्न सरकारलाई सिफारिस गरिएको छ।
मन्त्रिपरिषद्को साउन ३ गतेको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा गठित समितिले अनुसन्धान पूरा गरी प्रतिवेदन मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई बुझाएको हो।
गणेश नेपालीले असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो। घटनापछि सरकार र मृतकका परिवारबीच भएको सहमतिअनुसार स्वतन्त्र न्यायिक छानबिन समिति गठन गरिएको थियो।
छानबिनका क्रममा काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीबीच ट्राफिक व्यवस्थापनमा कार्यक्षेत्र दोहोरिएको निष्कर्ष निकाल्दै समितिले ‘सिंगल ह्यान्डलिङ’ प्रणाली लागू गर्न सुझाव दिएको छ। ट्राफिक व्यवस्थापनको जिम्मेवारी एउटै निकायमार्फत सञ्चालन गरिनुपर्ने र अधिकार दोहोरो रूपमा बाँडफाँट गर्न नहुने प्रतिवेदनको निष्कर्ष छ।
समितिले सडक सुरक्षालाई थप प्रभावकारी बनाउने, राइड सेयरिङ सेवालाई स्पष्ट कानुनी र प्रशासनिक व्यवस्थाअन्तर्गत सञ्चालन गर्ने तथा मानसिक तनावमा रहेका व्यक्तिका लागि सहज पहुँच हुने काउन्सेलिङ केन्द्र स्थापना गर्न पनि सरकारलाई सिफारिस गरेको छ। न्यूनतम शुल्क वा निःशुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउनुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ।
छानबिनका क्रममा प्रहरी वृत्त कालिमाटीका प्रहरी हवल्दार विकास बुढाथोकीले गणेश नेपालीलाई थप्पड हानेको तथ्यसमेत खुलेको समितिले जनाएको छ। घटनास्थलमा काठमाडौं महानगर प्रहरीसँग भएको विवादका क्रममा सम्झाउने प्रयास भइरहेका बेला उक्त घटना भएको उल्लेख गरिएको छ।
प्रतिवेदनमा महानगर प्रहरी मिना नगरकोटी, मिना तामाङ तथा प्रहरी हवल्दार विकास बुढाथोकीको भूमिकासम्बन्धी पनि आवश्यक सिफारिस गरिएको छ। यद्यपि, उनीहरूमाथि के कस्तो कारबाही वा कदम सिफारिस गरिएको छ भन्ने विवरण सार्वजनिक गरिएको छैन।
यसअघि घटनाको प्रारम्भिक अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पनि छुट्टै छानबिन समिति गठन गरिएको थियो।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया