काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई व्यक्तिकेन्द्रित होइन, नीति र विचारकेन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन्। उनले कुनै पनि कम्युनिस्ट पार्टीभित्र नेताको चाकडी गर्ने प्रवृत्ति त्याग्न आग्रह गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै नेपालले कम्युनिस्ट पार्टीको मूल आधार नीति, सिद्धान्त र विचार भएकाले व्यक्तिपूजाको संस्कृतिले आन्दोलनलाई कमजोर बनाउने बताए।
उनले भने, ‘कम्युनिस्ट पार्टी नीति प्रधान र विचार प्रधान पार्टी हो। त्यसैले कुनै पनि नेताको चाकडी नगर्नुहोस्। यो कुरा सबै कम्युनिस्ट पार्टीलाई लागू हुन्छ।’
नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सुरु भएको ७७ वर्ष पूरा भएको स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धि र कमजोरीको इमानदार समीक्षा आवश्यक रहेको बताए। उनका अनुसार विगतका अनुभवबाट शिक्षा लिएर आन्दोलनलाई समयअनुकूल रूपान्तरण गर्न सके मात्र कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ बनाउन सकिन्छ।
उनले आत्मसमीक्षा, वैचारिक स्पष्टता र संगठनात्मक सुधारमार्फत कम्युनिस्ट आन्दोलनलाई जनविश्वासको केन्द्र बनाउनुपर्ने आवश्यकता औँल्याए।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया