काठमाडौं । ललितपुर महानगरपालिकाले पछिल्ला वर्षहरूमा सडक पूर्वाधार, साइकल लेन, फुटपाथ निर्माण तथा शहरी सौन्दर्यीकरणलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएको छ। तर महानगरपालिका–२१ अन्तर्गत पर्ने ऐतिहासिक तथा सांस्कृतिक बस्ती खोकनाका स्थानीय भने आधारभूत सडक पूर्वाधारको अभाव अझै कायम रहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्।
स्थानीयका अनुसार महानगरको वर्तमान नेतृत्वको दुई कार्यकाल पूरा हुन लाग्दासमेत खोकनाका करिब चार किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन्। विकासका योजना र बजेट सार्वजनिक भए पनि सडक निर्माणले अपेक्षित गति लिन नसकेको उनीहरूको गुनासो छ। वर्षायाममा हिलो र सुख्खा मौसममा धुलोका कारण दैनिक आवतजावत कष्टकर बनेको स्थानीय बताउँछन्।
खोकनाको सानो बस्ती हुँदै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिकाली मन्दिर जाने करिब दुई किलोमिटर सडक अझै कालोपत्रेको प्रतीक्षामा छ। सडक जीर्ण हुँदा स्थानीय बासिन्दासँगै मन्दिर दर्शनका लागि आउने भक्तजन, सिकाली चौर पुग्ने आगन्तुक तथा पर्यटकसमेत प्रभावित हुने गरेका छन्।
यस्तै, खोकनावासीले मलामी जाने करिब एक किलोमिटर सडकको अवस्था पनि दयनीय रहेको स्थानीयको भनाइ छ। सामान्य अवस्थामा समेत हिँडडुल गर्न कठिन हुने उक्त सडक वर्षायाममा हिलो र अन्य समयमा धुलोले भरिने गरेको उनीहरू बताउँछन्। अन्त्येष्टि जस्तो संवेदनशील समयमा समेत सहज आवतजावत गर्न नसक्नु विडम्बनापूर्ण रहेको स्थानीयको भनाइ छ।
स्थानीयले वडा कार्यालय, ललितपुर महानगरपालिका, बागमती प्रदेश सरकार तथा संघीय सरकारसमक्ष पटक–पटक मौखिक, लिखित तथा सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराए पनि समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको बताएका छन्।
महानगरका अन्य क्षेत्रमा पूर्वाधार विकासले गति लिइरहेका बेला खोकनाका आधारभूत सडक भने अझै प्राथमिकतामा पर्न नसकेको स्थानीयको गुनासो छ। यसले विकासको समान पहुँच र स्रोत वितरणबारे प्रश्न उठाएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया