काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारीबारे छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकका क्रममा संसदीय दलका नेता जगन्नाथ थपलिया अस्वस्थ भई बेहोस भएपछि अस्पताल पुर्याइएको छ।
बुधबार राति भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बसेको बैठकमा बागमती प्रदेशका एमाले सांसदहरू सहभागी थिए। साँझदेखि मध्यरातसम्म चलेको बैठकमा प्रदेश सरकार गठन, बहुमत जुटाउने रणनीति तथा नेतृत्वको भूमिकाबारे गहन छलफल भएको स्रोतले जनाएको छ।
बैठकमा केही सांसदहरूले प्रदेशमा सरकार गठन प्रक्रिया अपेक्षाअनुसार अघि बढ्न नसकेको र आवश्यक राजनीतिक समन्वय कमजोर भएको भन्दै थपलियामाथि प्रश्न उठाएका थिए। छलफलकै क्रममा अध्यक्ष ओलीले पनि नेतृत्वको कार्यशैलीबारे असन्तुष्टि व्यक्त गरेको बताइएको छ।
स्रोतका अनुसार लगातारको तनावपूर्ण बहसबीच थपलिया अचानक बेहोस भएका थिए। उपस्थित नेताहरूले तत्काल प्राथमिक उपचार गरेपछि उनलाई मध्यपुर थिमी अस्पताल लगिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप र रगतमा चिनीको मात्रा असामान्य देखिएपछि औषधोपचार गरिएको र अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको जनाइएको छ।
बैठकमा सहभागी एक नेताका अनुसार सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने विषयमा विभिन्न धारणा आएका थिए। बहुमत सुनिश्चित गर्न सक्ने नेतृत्वलाई जिम्मेवारी दिनुपर्ने प्रस्तावसमेत छलफलमा उठेको थियो।
स्रोतका अनुसार बैठकमा राप्रपासँगको सम्भावित सहकार्य, बहुमत जुटाउने प्रयास तथा मुख्यमन्त्री चयनको विषयमा पनि व्यापक बहस भएको थियो। थपलियाले आफूले राप्रपा संसदीय दलका नेता उद्धव थापासँग संवाद गरेको भए पनि संस्थागत निर्णयबिना समर्थन सम्भव नभएको जानकारी गराएका थिए।
छलफलमा सहभागी अर्को नेताले भने बैठकलाई स्वाभाविक राजनीतिक परामर्शका रूपमा चित्रण गर्दै बहुमत जुटाउने सम्भावना भएका नेताले तत्काल पहल गर्नुपर्नेमा नेतृत्वले जोड दिएको बताए।
यसअघि एमाले नेतृत्वले बागमती प्रदेशमा संसदीय दलको नेतृत्व परिवर्तन नगर्ने र थपलियालाई नै मुख्यमन्त्रीको दाबेदारका रूपमा अघि बढाउने आन्तरिक सहमति गरेको थियो। तर पछिल्ला राजनीतिक घटनाक्रम र बहुमत समीकरणका कारण बैठकमा नेतृत्व र रणनीतिबारे पुनः गम्भीर छलफल भएको स्रोतको दाबी छ।
बैठकमा बागमती प्रदेशका १७ जना एमाले सांसद उपस्थित रहेको जनाइएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया