नयाँ दिल्ली । थाइल्यान्डको फुकेटबाट भारतको राजधानी नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको एक अन्तर्राष्ट्रिय उडानमा उडानकै क्रममा अचानक शक्तिशाली टर्बुलेन्स आएपछि केही यात्रु र चालक दलका सदस्य सामान्य घाइते भएका छन्।
एयर इन्डियाको उडान एआई–२३७९ मा भएको उक्त घटनापछि पाइलटहरूले तत्काल हवाई ट्राफिक नियन्त्रण (एटीसी)सँग समन्वय गर्दै आवश्यक सुरक्षा प्रक्रिया अपनाएका थिए। त्यसपछि विमानलाई सुरक्षित रूपमा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको कम्पनीले जनाएको छ।
एयर इन्डियाका अनुसार घटनापछि सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ। टर्बुलेन्सका कारण केही व्यक्तिलाई सामान्य चोटपटक लागे पनि कसैको अवस्था गम्भीर नरहेको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीका प्रवक्ताले यात्रु र चालक दलको सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै घाइतेहरूको आवश्यक उपचार तथा सहयोगको व्यवस्था गरिएको जानकारी दिएका छन्।
साथै, टर्बुलेन्सको कारणबारे अनुसन्धान जारी रहेको र सम्बन्धित निकायसँग पूर्ण समन्वय गर्दै घटनाको विस्तृत छानबिनमा सहयोग गरिरहेको एयर इन्डियाले जनाएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया