काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले स्वेच्छाचारी शैलीमा शासन सञ्चालन गरे एमाले जनताको साथमा सडक आन्दोलनमा उत्रिन तयार रहेको बताएका छन्। उनले वर्तमान सरकार गठन भएको चार महिना मात्रै भएकाले तत्काल सरकार परिवर्तनको विकल्पमा आफूहरू नरहेको स्पष्ट पार्दै लोकतन्त्रविपरीतका गतिविधि भए त्यसको प्रतिवाद गरिने चेतावनी दिए।
दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले संविधान, लोकतन्त्र र जनअधिकारको रक्षाका लागि आवश्यक परे एमालेका नेता–कार्यकर्ता जुनसुकै बेला सडक संघर्षमा उत्रिन तयार रहन निर्देशन दिइसकिएको बताए।
उनले अहिलेको अवस्थामा सरकार परिवर्तनभन्दा पनि सरकारलाई गलत बाटोमा जान नदिन प्रतिपक्षी लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे। साथै, राजनीतिक दलहरूले जनविश्वास पुनः प्राप्त गर्न आत्मसुधारको बाटो अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै एमाले पनि आफूलाई निरन्तर सुधार गर्दै अघि बढ्ने बताए।
महासचिव पोखरेलले सुनसरीको कप्तानगञ्ज घटनामा भएको बल प्रयोगबारे प्रधानमन्त्री र गृहमन्त्री नै राजनीतिक रूपमा जिम्मेवार हुनुपर्ने दाबी गरे। उनले विगतमा सुरक्षा निकायको कारबाहीलाई आधार बनाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाइएको स्मरण गराउँदै अहिलेको सरकारले पनि समान मापदण्ड अपनाउनुपर्ने बताए।
‘यदि त्यसबेला सुरक्षा निकायको बल प्रयोगको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्छ भनिएको हो भने अहिले पनि त्यही सिद्धान्त लागू हुनुपर्छ,’ उनले भने, ‘नत्र विगतका निर्णय गलत थिए भनेर सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ। अन्यथा प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ। शासनमा दोहोरो मापदण्ड स्वीकार्य हुँदैन।’
पोखरेलले एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका नाममा गरिएको कारबाहीप्रति पनि आपत्ति जनाए। उनले सम्पत्ति शुद्धीकरणको कानुनी व्यवस्थाको दुरुपयोग हुन नहुने भन्दै नेपालको कर प्रणालीमा रहेका जटिलताका कारण वैध आम्दानी पुष्टि गर्न नसक्ने अवस्थालाई नै ‘कालो धन’को रूपमा व्याख्या गर्न थालिए व्यवसायीहरू अन्यायमा पर्ने चेतावनी दिए।
उनका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको प्रयोग वास्तविक अवैध सम्पत्तिविरुद्ध हुनुपर्ने हो, सामान्य कर प्रशासनका कमजोरीलाई आपराधिक मुद्दामा रूपान्तरण गर्नु उचित नहुने उनले बताए।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार












प्रतिक्रिया