काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया अचानक बेहोस भएपछि त्यस घटनालाई लिएर पार्टीभित्र र सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्।
घटनापछि एमाले उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टी संगठन र नेताहरूको भूमिकाबारे संकेतात्मक धारणा सार्वजनिक गरेका छन्। उनले पार्टी कार्यालय र नेताको निवास कार्यकर्ताका लागि विश्वास, आत्मीयता र सहाराको केन्द्र बन्नुपर्नेमा जोड दिएका छन्।
भट्टराईले पार्टीभित्र खुला संवाद, आत्मीय सम्बन्ध र कमरेडभावको वातावरण कायम हुनुपर्ने उल्लेख गर्दै दुःख–सुख साटासाट गर्ने साझा थलोका रूपमा पार्टी संरचना विकास गर्नुपर्ने धारणा राखेका छन्।
उनले लेखेका छन्, ‘पार्टी कार्यालय र नेता (अगुवा) का निवास दुःख साट्ने, सुख बाँड्ने, प्रेम, भरोसा र विश्वासका केन्द्र बन्नुपर्छ। त्यहाँ पारिवारिक र कमरेडली वातावरणमा खुला छलफल हुन सक्नुपर्छ। नत्र दुःख पर्दा जाने कहाँ ?’
जगन्नाथ थपलिया बेहोस भएको घटनापछि एमालेका नेता–कार्यकर्ताबीच विभिन्न कोणबाट टिप्पणी भइरहेका बेला भट्टराईको यो अभिव्यक्तिलाई पार्टीभित्रको वातावरण सुधार गर्नुपर्ने सन्देशका रूपमा हेरिएको छ।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार












प्रतिक्रिया