काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन, शिक्षा, उद्योग, कृषि तथा सामाजिक राहतसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावअनुसार तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा काठमाडौंका याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुसार नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्ने तथा उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्ने निर्णय मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावबमोजिम पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि गरिएको छ।

त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष मा प्राध्यापक डा. खड्कबहादुर केसी र सचिव मा प्राध्यापक डा. रोजेश श्रेष्ठ नियुक्त भएका छन्।

यस्तै, मन्त्रिपरिषद्ले सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको उपचारको आवश्यक व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com