काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगबाट पुनर्गठन गर्न समय आएको भन्दै ‘नयाँ कम्युनिस्ट केन्द्र’ निर्माणको प्रस्ताव अघि सारेका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले विगतका अभ्यासबाट पाठ सिकेर फराकिलो, एकीकृत र नयाँ दृष्टिकोणमा आधारित कम्युनिस्ट आन्दोलन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले विगत दुई दशकमा कम्युनिस्ट आन्दोलनप्रतिको जनसमर्थन उल्लेखनीय रूपमा घटेको दाबी गर्दै अहिलेको नेतृत्वले जनविश्वास जोगाउन नसकेको टिप्पणी गरे।

‘हाम्रो प्रस्ताव स्पष्ट छ— नयाँ कम्युनिस्ट केन्द्र निर्माण गरौँ। कम्युनिस्ट आन्दोलनलाई फराकिलो आधारमा पुनर्गठन गर्नुपर्छ। तर त्यसका लागि नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ कार्यदिशा आवश्यक छ,’ विप्लवले भने।

उनले पछिल्ला वर्षहरूमा कम्युनिस्ट आन्दोलनको जनाधार खुम्चिँदै गएको उल्लेख गर्दै यस अवस्थाबाट बाहिर निस्कन पुरानै शैलीले सम्भव नहुने धारणा राखे।

संसदीय राजनीतिमा सहभागी कम्युनिस्ट दलतर्फ संकेत गर्दै विप्लवले दुईतिहाइ नजिकको जनमत प्राप्त गरेर सरकारको नेतृत्व गरे पनि राज्य संयन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाए।

‘संसदीय कम्युनिस्टहरू सरकारमा पुगेपछि केवल सत्ता व्यवस्थापनमै सीमित भए। दुईतिहाइको जनसमर्थन पाएर पनि राज्यका निकायलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकेनन्,’ उनले भने, ‘सरकारमा पुगेर पनि परिणाम दिन नसक्ने पुरानो कम्युनिस्ट अभ्यास अब अन्त्यतिर पुगेको देखिन्छ।’

विप्लवले अबको कम्युनिस्ट आन्दोलन जनमुखी, वैचारिक रूपमा स्पष्ट र समयअनुकूल नयाँ राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com