काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट हटाइएपछि उत्पन्न विवादका बीच मेटाको उच्चस्तरीय टोलीले भारत सरकारसँग प्रत्यक्ष छलफल गरेको छ।
मेटाका प्रमुख विश्वव्यापी मामिला अधिकारी जोएल काप्लानको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुधबार नयाँदिल्लीमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस. कृष्णनसँग भेटवार्ता गरेको हो।
भारतीय समाचार संस्था एएनआईका अनुसार करिब ४५ मिनेटसम्म चलेको बैठकमा मेटाका अधिकारीहरूले प्रधानमन्त्री मोदीको भिडियो प्राविधिक त्रुटिका कारण हटाइएको भन्दै त्यसको पृष्ठभूमिबारे सरकारलाई जानकारी गराएका थिए।
यसैबीच, मेटाको टोलीले भारतका सूचना तथा प्रविधिमन्त्री अश्विनी वैष्णवसँग पनि भेट गर्ने तयारी गरेको बताइएको छ। उक्त भेटमा पछिल्लो घटनाक्रम, सामाजिक सञ्जालको उत्तरदायित्व तथा डिजिटल प्लेटफर्मको सञ्चालनसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
उता, भारतीय संसदअन्तर्गतको सञ्चार तथा सूचना प्रविधिसम्बन्धी स्थायी समितिले मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले प्रधानमन्त्री मोदीको भिडियो हटाइएको घटनाबारे कुनै सर्त नराखी सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा व्यक्त गरेको छ।
समितिले यस्ता विवादास्पद घटना पुनः दोहोरिए भारतमा मेटाले हाल उपभोग गर्दै आएको कानुनी संरक्षण र नियामकीय सुविधामाथि समेत पुनर्विचार हुन सक्ने चेतावनी दिएको छ।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार













प्रतिक्रिया