काठमाडौं । राष्ट्रिय सभामा दिएको अभिव्यक्तिप्रति व्यापक आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले आफ्नो व्यवहारप्रति सार्वजनिक रूपमा क्षमा मागेका छन्। मनसुनजन्य विपद् व्यवस्थापनबारे भइरहेको छलफलका क्रममा सांसदहरूसँग भएको चर्काचर्कीपछि उनले रोष्ट्रमबाटै आफ्नो भाषा र प्रस्तुति उपयुक्त नभएको स्वीकार गरेका हुन्।
निर्मला पन्त हत्या प्रकरणबारे सांसदहरूले प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले आक्रोशित हुँदै ‘यो विषयमा प्रश्न नगर्नुस्’ भन्ने शैलीमा जवाफ दिएका थिए। उनको उक्त अभिव्यक्तिलाई संसदीय मर्यादाविपरीत र असंयमित भन्दै सदनभित्रै आलोचना भएको थियो।
आलोचनापछि पुनः बोल्ने अवसर लिएका मन्त्री गुरुङले आफ्नो प्रस्तुति अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै सांसदहरूसँग क्षमा याचना गरे। उनले अनुभवी सांसदहरूबाट अझै धेरै सिक्न बाँकी रहेको उल्लेख गर्दै आफ्नो अभिव्यक्ति केही कठोर हुन गएको महसुस भएको बताए।
‘मेरो प्रस्तुति केही ठाडो भयो जस्तो लागेको छ। त्यसका लागि म क्षमाप्रार्थी छु। यहाँ उपस्थित सबै माननीय सदस्यहरूसँग माफी माग्न चाहन्छु,’ उनले भने।
गुरुङले आफू संसदीय अभ्यासमा नयाँ रहेको उल्लेख गर्दै आगामी दिनमा अझ संयमित र जिम्मेवार ढङ्गले प्रस्तुत हुने प्रतिबद्धता पनि व्यक्त गरे।
यद्यपि, उनले मनसुनजन्य विपद् व्यवस्थापनजस्तो गम्भीर विषयमाथिको छलफलका क्रममा अन्य राजनीतिक मुद्दा जोडिएकोप्रति भने असन्तुष्टि जनाए। उनका अनुसार सदनमा छलफल भइरहेका विषयमै केन्द्रित भएर प्रश्न उठाइनु उपयुक्त हुन्छ।
‘हामी विपद् व्यवस्थापनबारे छलफल गरिरहेका थियौँ, तर बीचमै निर्मला पन्त हत्या प्रकरण जोडियो। यी दुई विषयबीच के सम्बन्ध छ ? माननीयज्यूहरूले विषयकेन्द्रित भएर छलफल गर्नुभयो भने अझ प्रभावकारी हुन्छ,’ उनले भने।
गृहमन्त्रीले सार्वजनिक रूपमा माफी मागेपछि राष्ट्रिय सभाको वातावरण केही सहज बनेको थियो।
प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार












प्रतिक्रिया