काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूबीच तीव्र भनाभन भएको छ।

विवादको केन्द्रमा सांसद डा. अमरेशकुमार सिंहले प्रयोग गरेकोसैन्यीकरण’ शब्द रह्यो। आफ्नो धारणा राख्ने क्रममा सिंहले संसदीय समितिमा सांसदहरूले व्यक्त गरेका विचारलाई व्यक्तिगत रूपमा प्रतिवाद गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसले समितिको गरिमा र प्रभावकारितामाथि असर पार्ने टिप्पणी गरे।

उनले सांसदहरू जनताको सार्वभौम प्रतिनिधि भएकाले समितिमा आफ्नो विचार स्वतन्त्र रूपमा राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताए।

‘सैन्यीकरण’ भन्ने शब्द प्रयोग गर्नुको कारण स्पष्ट पार्दै सिंहले देशमा प्रतिव्यक्ति सुरक्षाकर्मीको संख्या र राज्यको सुरक्षा संरचनाको अवस्थालाई आधार मानेर उक्त टिप्पणी गरेको बताए। आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर व्याख्या गर्न नहुने उनको भनाइ थियो।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले सिंहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै असहमति व्यक्त गरेपछि बैठक केहीबेर तनावग्रस्त बनेको थियो।

विवाद चर्किएपछि सिंहले समितिका सभापतिलाई सम्बोधन गर्दै आफूले उठाएका विषयलाई तथ्य र प्रमाणका आधारमा हेर्न आग्रह गरे। साथै, आफूलाई कम आँक्ने प्रयास नगर्न चेतावनी दिँदै आफ्नो भनाइ पुष्टि गर्न तयार रहेको बताएका थिए।

‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको छलफलका क्रममा सुरु भएको शब्दगत विवादले केही समय समितिको बैठकमा तनावपूर्ण वातावरण सिर्जना गरेको थियो।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com