काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक ‘कोइराला निवास’को मर्मत तथा पुनःनिर्माणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट नलिने निर्णय गरेका छन्। राज्यको सीमित स्रोतसाधन विपन्न र अभावमा रहेका नागरिकको हितमा खर्च हुनुपर्ने भन्दै उनले उक्त रकम स्वीकार गर्न नैतिक रूपमा असमर्थ रहेको जनाएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई सम्बोधन गर्दै पठाएको पत्रमा डा. कोइरालाले सरकारले देखाएको सद्भावप्रति आभार व्यक्त गरेका छन्। तर, वर्तमान आर्थिक तथा सामाजिक अवस्थालाई ध्यानमा राख्दै उक्त बजेट जनहितका क्षेत्रमा परिचालन गरिनुपर्ने आफ्नो धारणा स्पष्ट पारेका छन्।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्मघर ‘कोइराला निवास’को मर्मतका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो।
पत्रमा डा. कोइरालाले बीपी कोइरालाले जीवनभर गरिब, पीडित र वञ्चित नागरिकको अधिकार तथा गाँस, बास र कपासका लागि संघर्ष गरेको स्मरण गर्दै अहिले पनि राज्यले त्यही आदर्शलाई आत्मसात् गर्नुपर्ने उल्लेख गरेका छन्। उनका अनुसार सीमित सरकारी स्रोत ऐतिहासिक भवनभन्दा पहिले अभावमा रहेका नागरिकको जीवनस्तर सुधारमा खर्च हुनु नै बीपीप्रतिको सच्चा सम्मान हुनेछ।
विराटनगर महानगरपालिका–७ मा अवस्थित ‘कोइराला निवास’ डा. शेखरका पिता कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेका थिए। नेपाली लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक केन्द्रका रूपमा परिचित उक्त घर गत वर्ष भदौ २४ गते ‘जेन्जी आन्दोलन’का क्रममा आगजनीबाट क्षतिग्रस्त भएको थियो।
डा. कोइरालाले आफ्नो पत्रमा ‘कोइराला निवास’ केवल एउटा भौतिक संरचना नभई लोकतान्त्रिक मूल्य, राष्ट्रियता, संगठन र जनविश्वासको प्रतीक भएको उल्लेख गर्दै भवन नष्ट भए पनि त्यसले बोकेको वैचारिक विरासत कहिल्यै समाप्त नहुने विश्वास व्यक्त गरेका छन्।
सरकारी बजेट अस्वीकार गर्ने निर्णयमार्फत उनले सार्वजनिक स्रोतसाधन निजी सम्पत्तिको मर्मतमा भन्दा आम नागरिकको हित, राहत र विकासमा केन्द्रित हुनुपर्ने सन्देश दिएका छन्।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया