काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको करिब एक दशक पूरा हुन लागेकाले यसको कार्यान्वयनका क्रममा देखिएका कमजोरीहरूको समीक्षा गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधान पुनर्लेखनको आवश्यकता नरहेको स्पष्ट पार्दै व्यावहारिक अनुभवका आधारमा देखिएका जटिलताहरूलाई संशोधनमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार संविधान लागू भएको दस वर्षको अवधिमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारु तथा अन्य अल्पसंख्यक समुदायले भोगेका समस्या पहिचान गरी समयानुकूल सुधार गर्नु अहिलेको आवश्यकता हो।
आङदेम्बेले पछिल्लो समय लोकप्रियता हासिल गर्ने उद्देश्यले संविधानविरुद्ध भ्रम फैलाउने र समाजमा जातीय तथा सामाजिक विभाजन निम्त्याउने गतिविधि बढ्दै गएको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले जनभावनालाई दुरुपयोग गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको आरोपसमेत लगाए।
‘हामी संविधान फेरि लेख्ने होइन, दस वर्षको अभ्यासले देखाएका कमजोरी सुधार्ने चरणमा पुगेका छौँ,’ उनले भने, ‘संशोधनको उद्देश्य प्राप्त उपलब्धिलाई कमजोर बनाउनु होइन, अझ प्रभावकारी र समावेशी बनाउनु हो।’
उनले वर्तमान संविधान लामो राजनीतिक संघर्ष, त्याग र बलिदानपछि प्राप्त भएको उल्लेख गर्दै आगामी पुस्ताले फेरि अधिकारका लागि सडक संघर्ष गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन अहिले प्राप्त उपलब्धिको संरक्षण अपरिहार्य रहेको बताए।
आदिवासी जनजाति समुदायलगायत सबै नागरिकलाई भावनात्मक नारामा बहकिने वा ‘इमोसनल ब्ल्याकमेल’को प्रभावमा नपर्न आग्रह गर्दै उनले पहिचान, अधिकार र समावेशिताको सुनिश्चितता लोकतान्त्रिक व्यवस्थाबाट मात्रै सम्भव हुने जिकिर गरे।
नेपाली कांग्रेसले सबै समुदायको इतिहास, पहिचान र अस्तित्वको संरक्षण गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले लोकतन्त्रको रक्षा र संविधानको सफल कार्यान्वयनका लागि पार्टीका नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया