काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले पहिचानको अधिकार सुनिश्चित गर्ने संघर्ष आवश्यक भए पनि त्यसका नाममा समाजमा विभाजन र द्वन्द्व निम्त्याउने प्रयास अस्वीकार्य हुने बताएका छन्। उनले आफ्नो पहिचानको सम्मान खोज्नेले अरूको पहिचानलाई पनि समान सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राईले पछिल्लो समय पहिचानको मुद्दालाई भावनात्मक रूपमा उचालेर समाजलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे।
लोकतन्त्र स्थापनाका लागि प्रथम शहीद लखन थापादेखि इलामका सात खाल्डेका शहीदसम्मले पुर्याएको योगदान स्मरण गर्दै उनले नेपालको शक्ति नै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतामा रहेको बताए। आफू सामान्य किसान परिवारमा जन्मिएर विभिन्न समुदायको संस्कृति र परम्परासँग हुर्किएको उल्लेख गर्दै उनले जन्मले होइन, आफ्नो विचार र राजनीतिक दर्शनले आफू कांग्रेस बनेको स्पष्ट पारे।
राईले आदिवासी जनजाति समुदायको पहिचान र अधिकारका पक्षमा पार्टी तथा राज्यका सबै तहमा निरन्तर आवाज उठाइने प्रतिबद्धता व्यक्त गरे। तर, आफ्नो अधिकारको लडाइँ लड्दा अरू समुदायको पहिचान र अस्तित्वलाई पनि सम्मान गर्नुपर्ने लोकतान्त्रिक मूल्य भएको उनको भनाइ थियो।
उनले केही शक्तिले इतिहास र पहिचानलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्दै मानिसलाई भावनात्मक रूपमा प्रभावित पार्ने र पार्टी प्रवेश गराउने होडबाजी गरिरहेको आरोप लगाए। यस्तो प्रवृत्तिले अन्ततः सामाजिक सद्भाव कमजोर पार्ने र द्वन्द्व निम्त्याउने चेतावनी उनले दिए।
‘आफ्नो पहिचानको सम्मान खोज्नेले अरूको पहिचानलाई पनि सम्मान गर्न सिक्नुपर्छ। यही लोकतन्त्रको मर्म र कांग्रेसको राजनीतिक संस्कार हो,’ उनले भने।
कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको मूल प्रतिबद्धता यथावत् रहेको उल्लेख गर्दै उनले समयअनुसार पार्टीको कार्यशैलीमा व्यापक रूपान्तरण आएको दाबी गरे।
सरकारतर्फ संकेत गर्दै राईले बजारमा बढ्दो महँगी, ग्यासलगायत अत्यावश्यक वस्तुको अभावले नागरिक समस्यामा परिरहेका बेला सरकार संवेदनशील बन्न नसकेको आरोप लगाए। जनजीविकाका सवाल ओझेलमा पारेर सरकार अन्य विषयमा केन्द्रित भएको टिप्पणी गर्दै उनले कांग्रेसका कार्यकर्तालाई संसद् र सामाजिक सञ्जालमार्फत सरकारमाथि निरन्तर खबरदारी गर्न आह्वान गरे।
प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया