काठमाडौं । प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले विगतका राजनीतिक बहस र आरोप–प्रत्यारोप दोहोर्याएर समय खर्चिनुभन्दा वर्तमान सरकारले परिणाममुखी काम गरेर जनताको विश्वास जित्नुपर्ने बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ‘३५ वर्षमा के भयो?’ भन्ने प्रश्नलाई मात्र दोहोर्याएर नबस्न आग्रह गर्दै अघिल्ला सरकारले पूरा गर्न नसकेका काम सम्पन्न गरेर नयाँ उदाहरण प्रस्तुत गर्न सरकारलाई सुझाव दिइन्।
उनले विगत तीन दशकभन्दा लामो राजनीतिक यात्राको सम्पूर्ण जिम्मेवारी अहिलेका सबै सांसदमाथि थोपर्न नमिल्ने उल्लेख गर्दै वर्तमान संसद्मा रहेका धेरै प्रतिनिधि त्यसबेला सक्रिय राजनीतिमा नरहेको स्मरण गराइन्।
‘३५ वर्षमा हुन नसकेका काम अब तपाईंहरूले गरेर देखाउनुस्। उदाहरणबाट नेतृत्व गर्ने बेला आएको छ,’ उनले भनिन्, ‘यदि ३५ वर्षप्रतिको असन्तुष्टिले आजको सत्ता जन्माएको हो भने, त्यही असन्तुष्टिबाट जन्मिएको जनअपेक्षाको भारी पनि अहिलेको सरकारकै काँधमा छ।’
सांसद ओलीले जनताले परिवर्तनको पक्षमा मत दिएको स्मरण गराउँदै विगतको आलोचना मात्र होइन, प्रभावकारी काम र नतिजामार्फत विश्वास कायम गर्न सरकार सफल हुनुपर्नेमा जोड दिइन्।
प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार












प्रतिक्रिया